INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा घटनाको उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

भंगहा नगरपालिका–४ की ४० वर्षीया महिला ललिता देवी महतोले पति ४२ वर्षीय गणेश प्रसाद महतोले बहुविवाह गर्नुका साथै आफू र १८ वर्षीया छोरी अल्पनाकुमारी महतोलाई कुटपिट गरि हिंसा गरेको उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले दर्ता गर्न नमानेको पीडितरूको आरोप रहेको छ ।

पीडितहरूले मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का महोत्तरी जिल्ला प्रतिनिधिलाई न्यायको लागि पहल गरिदिनु हुन निवेदन दिएर सहयोगको माग गरेका छन् ।

आरोपित गणेशप्रसाद महतोले कैलालीको धनगढी घर भएकी तर हाल काठमाण्डौंमा डेरा गरि बस्ने ४२ वर्षीया सीता क्षेत्रीसँग बहुविवाह गर्नुका साथै आफूहरूलाई कुटपिट गरेको पीडितहरूले बताउनु भयो ।

पीडितहरूका अनुसार उहाँहरू आरोपित महतोविरुद्ध सर्वप्रथम इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिन जानुभएको थियो । तर, बर्दिवासको इलाका अन्तर्गत भंगहा नगरपालिका पर्ने जानकारी पाएपछि उहाँहरू उजुरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय जलेश्वर जानुभयो । त्यहाँ उजुरी दर्ता गर्न नमानेको उहाँहरूको आरोप रहेको छ ।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीले पीडितहरू बहुविवाहको उजुरी लिएर आएको जानकारी दिनुभयो । डिएसपी गिरीका अनुसार पीडितका कुराहरू सुनिसकेपछि आरोपितलाई प्रहरी कार्यालयमा बोलाउन लगाएको र उनिहरू प्रतिक्षालयमा बस्दै गर्नुभनेको थियो । तर, जब आरोपित प्रहरी कार्यालय आए तल खोज्न पठाउँदा दुबैजना पीडितहरू हिँडी सक्नु भएको थियो ।

उहाँले घटना १४–१५ वर्ष पुरानो भएकोले दुबै पक्षको कुरा नबुझी एकैपटक बहुविवाहको मुद्दा दर्ता गर्न नमिल्ने भएको हुँदा दर्ता नगरिएको जानकारी दिनु भयो । डिएसपी गिरीले दुबै पक्षलाई झिकाएर छलफल गर्ने प्रयास भइरहेको बताउनु भयो ।

यता पीडितहरू भने प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाउँदै सरकारी वकिलको कार्यालय मार्फत उजुरी दर्ताको तयारीमा छन् ।

यस घटना बारे छोरी र पत्नीले आरोप लगाएको जस्तो अवस्था नभएको महतोले बताउनु भयो । परिवारका लागि आफूले दायित्व निर्वाह गरिरहेको भन्दै आरोप लगाउनु नै रहस्यमय भएको महतोको भनाइ छ ।

महतोले भन्नुभयो, “मलाई जनताको काम गर्दा नै फुर्सद छैन । अनि घरमा कता झगडा गरेर बसौँ ।”

२०६४ सालमा घरमा सामान्य झगडा पर्दा प्रहरीसमक्ष उक्त विषय पुगेपछि भने आत्मालोचना गरेको महतोले स्वीकार गर्नुभयो । घटनाको पुष्टि भए आफू सजायको भागिदार हुने पनि महतोले बताउनु भयो ।

छोरीले सामाजिक सञ्जालबाट बद्नाम गर्न खोजे पनि उनीहरूको उचित हेरचाह गर्न कहिल्यै पछि नपर्ने अध्यक्ष महतोले जिकिर गर्नुभयो ।

Photo208002231 Photo208002232 Photo208002233 Photo208002234 Photo208002235

अन्य

भिडियो