जुम्लाका सामुदायिक विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आइतबार देखि शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको परिसरमा विद्यालयका लेखापाल र कार्यालय सहयोगीले धर्ना सुरु गरेका हुन् ।
धर्ना कार्यक्रम कार्यालय सञ्चालन समय विहान १० देखि बेलुका ५ बजे शुक्रबारसम्म गर्ने नेपाल विद्यालय कर्मचारी परिषद् जुम्लाका अध्यक्ष रामबहादुर शाहीले बताउनु भयो । सरकारले मागबारे कुनै सुनुवाई नगरेकाले धर्नालाई निरन्तरता दिन बाध्य भएको विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताउनु भयो ।
विद्यालय कर्मचारी लेखापाललाई खरिदार सरह र कार्यालय सहयोगीलाई श्रेणी विहिन स्तरको तलव सुविधा हुनु पर्ने, ०७९ भदौ १९ गते मन्त्रीस्तरीय बैठकले निर्णय गरेको कार्यान्वयन गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गरी दरवन्दी कायम गरेर विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायतका माग उनीहरुको छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम १ सय २७ बुँदामा विद्यालयका कर्मचारीको माग पुरा गरिने छ भनिए पनि अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा रकम विनियोजन भएको छैन ।
श्रम ऐनले तोके अनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो । धर्नामा जिल्लाका विभिन्न विद्यालयका ७० भन्दा बढी लेखापाल र कार्यालय सहयोगी रहेका छन् ।


