INSEC Online

आन्दोलनकारीद्वारा सरकारी मोटरसाइकलमा आगजनी

स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालका कार्यकर्ताहरूले राजविराज नपा-७ मा असार ४ गते स.१व ५२९ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् ।

Photo20170618Saptari

राजपाका कार्यकर्ताहरूले गजेन्द्र चौकस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा पार्किङ्ग गरेर राखेको डाकनेश्वरी नगरपालिकाको मोटरसाइकल आगजनी गरेर क्षति पुर्‍याएका हुन् । आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

डाकनेश्वरी नगरपालिका-१ का वडा सचिव तपेश्वरकुमार साह कार्यालयको काम विशेषले बैङ्कभित्र गएको बेला बाहिर पार्किङ्ग गरेर राखेको मोटरसाइकल प्रदर्शनकारीहरूले आगजनी गरेको सई बह्रमदेव साहले बताए ।

Photo20170618Saptari1

यसैबिच सप्तरीको रुपनी गापा-१ स्थित रायपुर सडक खण्डमा यातायात बन्द गराउँदै हिँडेका राजपा नेपालका केन्द्रीय सदस्य दिनेश यादव गिरफ्तार भएको राजपाका केन्द्रीय सदस्य अमरनाथ मण्डलले जानकारी दिए । बस तोडफोड गरेको आरोपमा गिरफ्तार भएका यादवलाई प्रहरी चौकी कठौनामा राखिएको प्रहरीले जनाएको छ ।

Photo20170618Saptari2

संविधान संशोधनको माग गर्दै दोस्रो चरणको स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालको प्रदर्शनका कारण यहाँबाट चल्ने लामो तथा छोटो दुरीको यातायात, कलकारखाना, शिक्षण संस्था ठप्प छन् । मोटरसाइकल, सिटी रिक्सा र अधिकांश पसलहरू भने सञ्चालनमा रहेका छन् ।

अन्य

भिडियो