बुटवल उपमनपा–१२ नयाँ गाउँमास्थित सिटी क्याम्पसका कानुन संकाय तेस्रो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरूले विभिन्न २३ बुँदे माग राख्दै क्याम्पसमा सात दिनदेखि तालाबन्दी गरेका कारण पठनपाठन प्रभावित बनेको छ ।
विद्यार्थीहरूले जेठ ८ गतेदेखि क्याम्पसको प्रशासन र मूल गेटमै ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै बुटवल उपमहानपा–६ स्थित जेसिस चोकमा आएर क्याम्पसले आफ्ना माग पुरा गर्नुपर्ने भन्दै सडक आन्दोलनमा समेत उत्रिएका छन् ।
डिन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्नुपर्ने र डिनलाई दैनिक पठनपाठनका लागि नियुक्ति गर्नुपर्ने, नयाँ चार जना कानुनको विषयमा दक्षता हासिल गरेका शिक्षकलाई विद्याथीहरूको रायमा नियुक्त गर्नुपर्ने, हालको क्याम्पस प्रमुखलाई प्रमुख पदबाट हटाएर कानुन अध्ययन गरेको व्यक्ति राख्नु पर्ने, व्यवस्थित पुस्तकालय बनाउनुको साथै सबै सेमेष्टरका रिफरेन्स पुस्तकहरू १० दिनभित्र व्यवस्थापन गरी चार वटा पुस्तक विद्यार्थीले लैजान सक्ने व्यवस्था गर्नुपर्ने, छात्रावृत्ति सम्बन्धी अन्तिम प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने, तत्कालै अभ्यास अदालत र सेमिनार हलको व्यवस्था गर्नुपर्ने, चमेना गृह तत्काल सञ्चालन गर्नुपर्ने, नियमितरुपमा राष्ट्रिय दिवश र कानुन दिवशमा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने लगायतका मागहरू विद्यार्थीहरूले राखेका छन् ।
क्याम्पसमा ताला बन्दी हुँदा विद्यार्थीहरूको पठन पाठनमा अवरोध भएको आन्दोलनरत विद्यार्थी सविता पोखरेलले बताउनु भयो । आफूहरूले पटक पटक मागहरु क्याम्पस प्रशासनमा राखेको भए पनि क्याम्पस प्रशासनले नसुनेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पोखरेलले बताउनु भयो ।
विद्यार्थी शुशिल पौडेलले गुणस्तर शिक्षा पाउनु हाम्रो अधिकार भएपनि प्राप्न हुन नसक्दा शैक्षिक गुणस्तर सुधारकालागि आन्दोलन गर्नु परेको बताउनु भयो ।
सिटी क्याम्पस प्रमुख फणीन्द्रकुमार न्यौपानेले विद्यार्थीहरूले क्याम्पस प्रशासनप्रति असन्तुष्टि जनाएर जेठ ८ गतेदेखि तालाबन्दी गरेको बताउदै विद्यार्थीका माग पुरा गर्नका लागि क्याम्पस प्रशासन प्रतिबद्ध रहेको बताउनु भयो ।
विद्यार्थीहरूको विरोधको विषयमा छलफल गर्नका लागि क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने लगायतको समूह जेसिस चोकमै पुगेर वार्ताका लागि आग्रह गरेपनि विद्यार्थीहरूले विश्वास नलागेर बेवास्ता गरेको आन्दोलनरत विद्यार्थीहरूले बताएका छन् ।
