INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ ११ गते न्यायीक प्रक्रियालाई सहज बनाउन सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ जाईकी २३ वर्षीया खिमा रावल, गोदावरी नगरपालिका–५ गेटाकी ३० वर्षीया पुजाकुमारी देवी, कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–५ की २३ वर्षीया मन्धरीकुमारी ठकुल्ला र बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी २३ वर्षीया गाजल विकलाई सहयोग रकम प्रदान गरेको  छ ।

घरेलु हिंसा घटनाका पीडितहरुले आर्थिक अभावका कारण  घटनापश्चात जिल्ला अदालतमा उजुरी दर्ता गरेपछि पटकपटक पेशीको लागि आउन–जान आर्थिक समस्या भइरहेको अवस्थामा एडभोकेसी फोरमले मानव अधिकार सहायता कक्षमा सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप जनही ८ हजार रुपियाँ प्रदान गरेको हो ।

पतिबाट पीडित चारै जनाले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतबाट चालु अवस्थामा रहेकाले पटकपटक पेशीको कारण पीडितलाई आउन–जान यातायातको समस्याले तोकिएको समयमा तारेख लिन नसक्दा मुद्दाको प्रक्रियामा ढिलाई हुने एडभोकेसी फोरमका संयोजक पुष्पबिक्रम शाहीले बताउनु भयो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूहरुलाई न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा यो सहयोगले ठुलो राहत हुने भन्दै पीडित पुजाकुमारी देवीले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

photo20230525kailali (1)

अन्य

भिडियो