INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरी जन्माएको आरोपमा घरेलु हिंसा

छोरी जन्माएको,  दाइजो  नल्याएको र दाइजो कम ल्याएको आरोपमा घरेलु हिंसा हुने गरेको पाइएको छ ।

मायादेवी गाउँपालिका– १ की सुनिता लोध ५६ वर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी उनका चार छोरी छन् । छोरी जन्माएका कारण पटक पटक घरपरिवारबाट हिंसा खेपेकी सुनिताले पाँचौ र छैठौ पटकमा छोरालाई जन्म दिनु भयो । छोराको जन्म भएपछि सुनिताको परिवारमा केही खुशी त थपियो तर पनि यति धेरै छोरी जन्माएको भनेर पटक पटक हिंसा खेप्नु परेको उहाँले बताउनु भयो ।

सम्पतिको नाममा भएको १० कठ्ठा खेत मध्ये चार कठ्ठा बिक्री गरेर दुई जना छोरीको विवाह गरेको र बाँकी ६ कठ्ठाले दुई छोरीको विवाह गर्न उनलाई सकस परेको छ ।

विवाह भएर पठाएका छोरीलाई दाइजो कम भयो भनेर कुटपिट गर्ने गरेको सुनिताले बताउनु भयो ।

लोध मात्र होइन् लुम्बिनी साँस्कृतिक नपा– १ धमौलीकी पवित्रा चाइको अवस्था पनि उस्तै छ । १३ वर्षमा विवाह गरेकी चाइ अहिले ४८ वर्षकी हुनु भयो ।  पाँच जना छोरी र एक छोरा भएकी चाइका  तीन छोरीको विवाह भइसक्यो ।

छोरीको विवाहमा आफूले सकेको खर्च गरेर विवाह गरेको भए पनि अहिले साइकल र भैसी माग्न भन्दै छोरीहरूलाई कुटपिट गर्ने गरेको चाइले बताउनु भयो ।

यसैगरी, लुम्बिनी साँस्कृतिक नपा– १० मैलावारकी ३६ वर्षीया रीना यादवको अवस्था पनि उस्तै छ ।  ११ वर्षको उमेरमा विवाह भएको उनका तीन छोरी र दुई छोरा छन् । सुरूमा लगातार छोरी जन्माएको कारण पेटभरी खान नपाएको , पति र सासुले छोरा जन्माउन नसक्ने भन्दै  यातना दिएको उहाँले बताउनु भयो ।

भएको १५ कठ्ठा जति जग्गा मध्ये  सात  कठ्ठा बिक्री गरेर दुई छोरीको विवाह गरेको ऋण तिर्न बाँकी रहेको रीनाले बताउनु भयो । जेठी छोरीका घर परिवारले दाइजोका कारण सधै हिंसा दिने गरेको उनको भनाइ रहेको छ ।

लोध, चाइ र यादव प्रतिनिधि मूलक पात्र मात्र हुन् यस्ता धेरै आमा र छोरीहरू छन । जसले कहिले छोरी जन्माएको निहुँमा, कहिले, दाइजो कम दिएको निहुँमा हिंसा भोग्नु परेको छ ।

इन्सेकको अभिलेख अनुसार रुपन्देही जिल्लामा आव.०७६/०७७ मा २ सय ८९ जना, ०७७/०७८ मा ५ सय ७ जना र ०७८/०७९ मा ५ सय ७५ जना घरेलु हिंसाबाट पीडित भएको देखिन्छ ।

पीडित भएको देखिन्छ ।

घरेलु हिंसाका अधिंकांश घटनाहरुको विश्लेषण गर्दा पति पत्नी बिचको विवाद, कुटपिट, गाली गलौज, छोरी नपाएको कारण, घर निकाला, दाइजोका कारणले हिंसा भएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ् अनुसार आ व ०७६/०७७ मा ३ सय ७८ ओटा घरेलु हिंसाको घटनाहरू भएका छन्  । यसैगरी,  ०७७/०७८ मा ४ सय ८३ र ०७८/०७९ मा ५ सय ६४ जना पीडित भएको तथ्याङ्क रहेको छ ।

नेपाल प्रहरीको विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने अपराधसँग सम्बन्धित कुल घटनाको ७७ प्रतिशत हिंसा जन्य अपराधले ओगटेको देखिन्छ । जसमध्ये सबै भन्दा बढी महिला र बालिका पीडित भएका छन् ।

तुलनात्मकरुपमा विश्लेषण गर्ने हो भने अधिकांश हिंसाका घटनाहरूमा कम शैक्षिक योग्यता भएका पीडित र पीडितकहरु रहेका छन् ।

अन्य

भिडियो