INSEC Online

📅 २०८३ जेष्ठ २१

परिचरका भरमा विद्यालय सञ्चालन

कोल्टीको ढाडाकोटस्थित बुढीनन्दा प्रावि दुई महिनादेखि सुनसान जस्तै छ । चैत दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म विद्यालयमा उपस्थित भएका छैनन् ।

सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यालयका शिक्षकहरूले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरे । परीक्षालगत्तै चैत १२ गते प्रधानाध्यापक सहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी हिँडे । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि परिचर धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरेका थिए ।

शिक्षकहरूको लापरबाही यतिकैमा सीमित रहेन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरू गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पुर्‍याउनुपर्ने हो । तर, यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर अहिलेसम्म जुरेको छैन । ‘सरहरू नफर्केपछि विद्यार्थीहरूको नाम मैले नै रजिष्टरमा टिपेको छु ।’-धर्मले भने ।

सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई जना गरी पाँच जना शिक्षक कार्यरत रहेपनि यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शङ्कर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् ।

नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ । शिक्षकहरूको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेपनि सम्पर्कमा नआएको बताए । अन्य शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए । ‘पटकपटक कुरा गर्न खोज्दा रेग्मीले वास्तै गर्दैनन् ।’-अध्यक्ष बोहराले भने-‘लामो समय विद्यालय बन्द भएर बालबालिकाको भविष्य अन्योलमा पर्ने देखेपछि जिल्ला शिक्षा कार्यालयमा खबर गरेका छौँ ।’

शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकहरूको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोत व्यक्तिको हो । त्यस क्षेत्रका स्रोत व्यक्ति प्रेमराज रेग्मीले उक्त विद्यालयका शिक्षकहरूको लापरबाही रहेको बताए ।

कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा १ सय १० विद्यार्थी अध्ययनरत छन् । जिशिकाका कर्मचारीहरूले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्त बढेको आरोप विगतदेखि नै लाग्दै आएको हो ।

अन्य

भिडियो