INSEC Online

📅 २०८३ जेष्ठ २१

झरना हेर्न गएकी महिलाको डुबेर मृत्यु नभइ हत्या गरिएको पीडित पक्षको आरोप

रोल्पाको सुनछहरी झरना घुम्न गएकी नेपालगञ्ज उपमनपा–१८ की २४ वर्षीया चन्द्रा सुनारको डुबेर नभई योजनावद्ध रुपमा हत्या गरिएको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित पक्षका अनुसार १० वर्ष अघि चन्द्रा र उमेश सुनारले प्रेम विवाह गरेका थिए । केही महिना उनीहरूसँगै बसे पछि गएर उमेशले वास्ता गर्न छाडेका थिए ।

“आरोपित उमेशले लामो समय वास्ता नगर्नु र एक्कासी गत वैशाख २६ गते रोल्पा आउ भन्दै ५ हजार रूपियाँ पठाएका थिए । रोल्पा पुगेको तीन दिनमै उनको हत्या भयो । ” मृतकका आफन्त देउमल सुनारले भन्नु भयो ।

सुनारका अनुसार आरोपितको अर्की महिलासँग सम्बन्ध रहेको थियो । त्यसै कारणले हत्या गरेको हुनसक्ने सुनारले बताउनु भयो ।

हत्या घटनाको उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्त देउमल सुनारले बताउनु भयो ।

घटनाका सन्दर्भमा  सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले प्रहरीले उजुरी लिन नमानेको भन्दै पीडितपक्ष बाँकेको कोहलपुरबाट फोन गरेको बताउदै घटना जेजस्तो भएपनि प्रहरीले उजुरी लिनुपर्ने बताउनु भयो ।

प्रहरीले उजुरी नै नलिनु गैरजिम्मेवार कुरा भएको अध्यक्ष मगरले बताउनु भयो । मगरका अनुसार घटना ०८० वैशाख २९ गते साझ चारदेखि पाँच बजेको समयमा भएको हो ।  घटना अलि शङ्काष्पद नै रहेको अध्यक्ष मगरको भनाइ रहेको छ ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले प्रहरीले जाहेरी लेखेर ल्याउन भनेको तर पीडित पक्षले नै जाहेरी पोष्टमार्टम पछि दिन्छौ भनेपछि अहिले उजुरी  दिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे बताउनु भयो ।

मृतकका आफन्तका अनुसार घटना स्थलमा मदिराको बोत्तल, शङ्काष्पद औषधि, यौनाङ्गमा घाउ भएको र नग्न अवस्थामा रहेको थियो ।

आरोपित उमेश पोवाङ प्रहरी चौकीमा कार्यरत छन् ।  घटनास्थल प्रहरी चौकीबाट डेढ घण्टाको पैदल दुरीमा छ ।

शवको पोस्टमार्टम  वैशाख ३१ गते जिल्ला अस्पताल रेउघामा गरी सोही दिन शव आफन्तलाई बुझाइएको छ ।

अन्य

भिडियो