१७ वर्षीया बालिकालाई अपहरण तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखाल नगरपालिका–१ का ३३ वर्षीय मङ्गल कृष्ण भन्ने मङ्गले तामाङलाई ०८० वैशाख ३१ गते २० वर्ष कैद सजाय फैसला सुनाएको छ ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश मोहनराज भट्टराईको इजलासले तामाङलाई १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र १ लाख रुपियाँ जरिबाना समेत भराउने फैसला गरेको छ ।
पीडित बालिकालाई ०७८ फागुन २३ गते अपहरण तथा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते धुलिखेल अस्पतालमा भयो ।
तामाङलाई इलाम जिल्ला स्थित पशुपतीनगर इलाका प्रहरीले चैत ८ गते गिरफ्तार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले तामाङविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला अदालतमा अपहरण तथा शारीरिक बन्धक र जबरजस्ती करणीको अभियोगमा ०७९ वैशाख २ गते मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको वैशाख १४ गतेको आदेशले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।