पाँचपोखरी थाम्पाल गाउँपालिका-१ याङ्ग्रीमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा वितरण कार्य शुरु गरिएको छ । उनीहरूलाई स्थायी आवासको व्यवस्था गर्न गाउँपालिकाले जग्गा खरिद गर्न ०८० वैशाख २५ गते सम्झौता गरेको छ ।
इन्द्रवती खोलाको मुहानमा पर्ने याङ्ग्री, टासिवा र सुनचौर गाउँभन्दा माथीबाट ०७८ असार १ गते बेलुकी आएको पाहिरोले इन्द्रवती खोला तीन घण्टासम्म थुनिएर खोलिएको बाढिले अत्याधिक क्षति पुर्याएको थियो ।
बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको पाँचपोखरी थाम्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बताउनु भयो ।
बाढीबाट १ सय ७९ परिवार प्रभावित भएका थिए । प्रभावितहरू मध्ये १३ परिवारको घर पुननिर्माण तथा बाँकीलाई पुनस्थापना गर्नुपर्ने अवस्था भएको अध्यक्ष लामाले उल्लेख गर्नुभयो ।
स्थायी आवास निर्माण गर्न बाढीबाट प्रभावितहरूलाई गाउँपालिकाले प्रति परिवार पाँच लाख तथा जग्गा नहुनेलाई थप तीन लाख दिइने पाँचपोखरी थाम्पाल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णहरि पौड्याले बताउनु भयो ।
०७८ असार १ गते राती आएको अकल्पनीय भिषण बाढीले त्यस गाउँपालिकामा चार जनाको मृत्यु भएको र नौ जना बेपत्ता भएका थिए ।
बाढीको स्थलगत अनुगमनपछि इन्सेक अनलाईनमा “राहतको पर्खाइमा बसेका बाढीपीडितको नागरिकहरूले अझै राहत पाउन सकेनन्” भन्ने शीर्षकमा समाचार समेत प्रकाशित भएको थियो ।