विद्यार्थीले पानी पिउँदा धारामा लगाएको सकेट हराएको भन्दै कुटपिट गर्ने शिक्षक विरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको छ
बागलुङ नगरपालिका–७ स्थित एक विद्यालयको कक्षा ३ मा अध्ययन गर्दै आएका ८ वर्षीय बालकलाई वैशाख १७ गते कुटपिट गरेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका– ७ छरिखोला निवासी ४० वर्षीय केशवराज गौतम विरूद्ध वैशाख १९ गते साँझ प्रहरीमा उजुरी दिएका हुन् ।
वैशाख १६ गते शनिवार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै बालकलाई कुट्दा टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप छ ।
यस विषयमा वैशाख १९ गते दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबिच छलफल भएको थियो ।
शिक्षकले गल्ती स्विकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतीपूर्तीसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र विधालयले गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने गरि छलफल भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरी पछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिनको लागि प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो ।
बालकको स्वास्थ्य परीक्षण वैशाख १८ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।