घरमा खाने अन्न नभएका गजुरी गाउँपालिका-६, श्यामैडाँडाका चेपाङ समुदायका बालबालिका जनचेतना आधारभुत विद्यालयमा भर्ना गरेका छन् ।
आफूले पढ्न नपाएर गरिब भएको अनुभव भएका चेपाङ समुदाय आफ्ना बालबालिका पढाउनु पर्छ भनेर कठिन अवस्थामा पनि विद्यालयमा भर्ना गराउने गरेको पाइएको छ ।
६ वर्षीया रोशिका चेपाङलाई विद्यालय जानका लागि चिन्ता पर्छ । मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी रोशिकासँग विद्यालय जानका लागि जुत्ता चप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडा बाहेक केही छैन ।
हजुरआमाले ज्याला गरेर घरमा ल्याएको दिन खाना खान पाउने रोशिका बाटो हिँड्दा पनि डराइ डराइ अरुले गिज्याउँछन् भन्ने लाज मान्दै जाने गर्छिन् ।
श्यामैडाँडामा रहेको जनचेतना आधारभुत विद्यालयको कक्षा २ मा भर्ना भएकि रोशिका चेपाङको आमाले चार वर्ष अघि छाडेर अर्को बिवाह गर्नुभयो । बुबाले छोरीलाई नहेरेर छाडेपछि मामाघर बस्दै आएकी रोशिका विद्यालय पढ्नका लागि पनि सङ्घर्ष गरिरहनु परेको छ ।
सपना चेपाङको पनि अवस्था उस्तै छ । कक्षा २ मा भर्ना भएकी सपनालाई हजुरआमा सोनिता चेपाङले विद्यालय पढाउनु भएको छ । सपनाको आमाले चार वर्ष अघि घर छाडेर हिँडिन् । बुबाले अर्को बिवाह गरेर गए । हजुरआमाले ज्याला मजदुरी गरेर, स्याहार गर्दै हुर्काए पनि सहज रूपमा पढाउन भने कठिन छ ।
सोनिता चेपाङले अरु बालबालिका जसरी राम्रो लुगा किनिदिन सक्नु भएको छैन । साहुको बारीको अधियाँ र ज्यालाले बल्ल बल्ल खान पुगेको छ । नातीनि पढाउन कठिन भएको उहाँको भनाइ छ ।
कक्षा १ मा भर्ना भएकी नानु चेपाङ आमाले छाडर हिँडेपछि मामाघरको हजुरआमाले ज्याला गरेर विद्यालय पढाउनु भएको छ । आफै बुढ्यौलीले छोएका हजुरआमाहरू आफूले पढ्न नपाएर दुख पाएको सम्झना गर्दै पढेर केही सुख पाउलान् कि भनेर आधापेट खाएर भएपनि नातीनि पढाएको माइली चेपाङको भनाइ छ ।
हजुरआमाहरूले नै पढाउँदै आएका सात जना बालबालिका त यस विद्यालयमा अभिभावक विहिन भएर कष्टपूर्ण तरिकाले विद्यालय आउने गरेको पाइएको छ ।
१ सय २० घर चेपाङ समुदायको बसोबास भएको तल्लो र माथिल्लो श्यामैडाँडाबासी अति गरिबहरू छन् । विद्यालयमा आउने आधाभन्दा बढी विद्यार्थीले विद्यालय पोशाक र जुत्ता समेत लाउन सक्ने अवस्थामा नभएको विद्यालयका शिक्षक कमला अधिकारीले जानकारी दिनुभयो ।
कक्षा ५ सम्म पढाइ हुने जनचेतना आधारभुत विद्यालयमा चेपाङ बालबालिका मात्र अध्यायन गर्छन । अन्यत्र विद्यार्थी नआउने समस्या आएको बेला यस विद्यालयमा ७१ जना बालबालिका भर्ना भइसकेको प्रधानाध्यापक राधा कँडेलले बताउनु भयो ।


