नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको आरोपमा प्रहरीले नौ जनालाई गिरफ्तार गरेको छ ।

०८० वैशाख १४ गते इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधनका लागि सदरमुकाम आउने क्रममा ओलीलाई इलाम चोक बजारमा कालोझण्डा देखाएको आरोपमा प्रहरीले नौ जनालाई गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले युवा संघका कार्यकर्ता र कालोझण्डा देखाउनबिच झडपको अवस्था आएपछि उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गिरफ्तारीमा पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदेन, विक्रम फ्याक, सपना राई, रोङ गाउँपालिकाका विक्रम राई, देउमाइ नगरपालिकाका धर्म लिम्बू, कुमार फत्र, महेश फ्याक, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकाका गणेश लिम्बू छन् ।
उनीहरुको ठेगाना र उमेर प्रहरीले गोप्य राखेको छ ।
प्रदर्शनकारीले प्रदेशको नाम ‘कोशी’ भएकोमा विरोध जनाउँदै ओलीसहित इलाम क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका अघि कालोझण्डा देखाएका छन् ।
कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् ।
पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायत नेता कार्यकर्तालाई कालोझण्डा देखाएका छन् ।
आन्दोलनकारीहरुले ‘कोशी प्रदेश खारेज गर ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए ।
प्रदर्शन कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले कोशी प्रदेशको नाम खारेज हुनुपर्ने बताएका छन् ।
प्रदर्शनकारीले जिल्ला खेदकुल विकास समितिको कोशी प्रदेश लेखिएको बोर्ड भत्काइ दिएका छन् ।
