बुटवल उप–महानगरपालिका–४ आर्दशनगर क्षेत्रमा गर्मी बढेसँगै खाने पानीको अभाव भएको छ । गर्मीको समयमा खानेपानीको अभाव हुँदा आर्दशनगर क्षेत्रका २ सय ५० बढी घर परिवारहरू समस्यामा परेका छन् ।
घर घरमा खानेपानीका धारा भएपनि प्रयाप्त मात्रामा खानेपानी नआउदा समस्या झेल्नु परेको स्वर्गद्वारी टोल विकास संस्थाका अध्यक्ष पुरन श्रेष्ठले बताउनु भयो ।
एक, दुई दिन बिराएर धारामा पानी आएपनि पर्याप्त पानी नआउँदा समस्स्या भएको श्रेष्ठले बताउनु भयो ।
बुटवल खानेपानी संस्थान र बुटवल उप–महानगरपालिकालाई खानेपानीको विषयमा पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाई नभएको उपभोक्ताको गुनासो छ ।
‘पानीको सारै हाहाकार भएपछि बुटवल उप–महानगरपालिकाले एक दिन ट्याङ्कीबाट पानी वितरण गरेको थियो । स्थानीय पशुपति थापाले भन्नु भयो ।
गर्मी बढ्दै गएसँगै खानेपानीको अभाव भएपछि आर्थिकरुपले सम्पन्न परिवारले मिनरलवाटर किनेर खाए पनि अन्य सामान्य परिवारले भने समस्या झेल्नु परेको स्थानीय कमला क्षेत्रीले दुखेसो पोख्नु भयो ।
आर्थिक अवस्था कमजोर भएकाहरूले बजारका अन्य ठाउँमा भएका वोरिङ खोजेर जर्किन र बोत्तलमा पानी बोक्नु पर्ने बाध्यता छ ।
बुटवलमा मुख्य सडकको पूर्वतर्फको वस्तीमा नै खानेपानी अभाव छ । लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा खानेपानी संस्थान जिम्मेवार बन्न नसकेको स्थानीयको गुनासो छ ।
पछिल्लो समयमा बुटवलमा खानेपानीको समस्या हल हुँदै गएपनि आर्दशनगर क्षेत्रमा भने खानेपानीको अभाव कायमै छ, पानी नहुँदा आर्दशनगरवासी समस्यामा परेका छन् ।
बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले आदर्शनगर क्षेत्रमा पानीको समस्या भयो भनेपछि धेरै वर्ष पहिले राखेका पाइपहरूको कनेक्सन नभेटिएको र नयाँ पाईपहरू जडान गरेर एकदिन बिराएर पानी विवरण गर्ने गरेको बताउनु भयो ।
प्रमुख भट्टले उपभोक्ताले पानीको समस्या भयो भनेपछि नयाँ पाइप जडान गरिएको र अहिले बिजुलीको पनि भोल्टेज कम र आउने जाने गरेका कारण पनि समस्या भएको भन्दै पानीको समस्या देखिएपछि ट्याङकरबाट पानी वितरण गरेको बताउनु भयो ।
गर्मी बढेसँगै पानीका श्रोत र मुहानहरूमा सुख्खापन बढ्दै गएका कारण उपभोक्ताको माग अनुसार पानी वितरण गर्न नसकिएको भट्टले बताउनुभयो ।
हाल बुटवलमा तिनाउ खोला र विभिन्न २२ ओटा भूमिगत पानीका स्रोतहरूबाट खानेपानी संस्थान र विभिन्न उपभोक्ता समिति मार्फत २ करोड ५० हजार लिटर पानी वितरण हुने गरेको भएपनि ३ करोड ४० लाख लिटरको माग रहेको छ ।
तीव्र सहरीकरणसँगै जनसङ्ख्या बढ्दै जाँदा बुटवलमा वर्षेनी १५ लाख लिटरभन्दा बढी खानेपानीको माग थपिदै जाने अधिकारीहरू बताउँछन् ।