नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार गरेका छन् ।

बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा टायर बालेर सडक अबरुद्ध गर्दै प्रदर्शन गरिरहेका राजपाका कार्यकर्ताहरूले सांसद साह सवार बा१२च ९६९ नम्बरको गाडीमा ढुङ्गमुढा प्रहार गरेका हुन् ।
निर्वाचनको विरोध गर्दै आएको राजपाले जेठ ३० गतेदेखि असार २ गतेसम्म तराई मधेस बन्दको आह्वान गरेको पहिलो दिन बन्दको अवज्ञा गरेको आरोप लगाउँदै सांसद साह चढेको गाडीमा ढुङ्गामुढा प्रहार गरेका हुन् ।
ढुङ्गामुढाले गाडीको अगाडिको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जनाए ।

आफ्नो घर सम्सी गाउँपालिका हँदै रामगोपालपुरबाट औरहीतर्फआउँदै गर्दा औरही बजारमा सांसद साहलाई मधेस विरोधी एमालेको नेता भन्दै राजपाका कार्यकर्ताले आक्रमण गरी गाडीको सीसा फुटाएको बताइएको छ ।
सांसद सवार गाडीका चालकले तीव्र गतिमा भगाएर ज्यान जोगाएको साहले बताएका छन् । उनले भने-‘हाम्रो गाडीलाई आन्दोलनकारीले बाटोमै छेके । गाडी नरोकी आन्दोलनकारी छल्दै बर्दिबास पुगेँ ।’