कर्णाली प्रदेशमा तीन महिनाकाे अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएका छन् ।
सन २०२३ जनवरी देखि मार्च सम्मको अवधिमा रान्यपक्षबाट ६ जना र अन्यपक्षबाट १ सय १० जना गरी १ सय १६ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा तीन महिनाको अवधिमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा एक जना महिला र पाँच जना पुरुष पीडित भए । जसमध्ये कुटपिटबाट पाँच जना र धम्कीबाट एक जना पीडित भए ।
इन्सेकको अभिलेख अनुसार अन्यपक्षबाट भएका घटनामा कुटपिटबाट १५ जना, बाल अधिकारका घटनामा १९ जना, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारबाट एक जना, अमानवीय व्यवहारबाट दुई जना, घाइते तीन जना, हत्या १२ जना, धम्कीबाट दुई जना, महिला अधिकारका घटनामा ५७ जना पीडित भए ।
यस अवधिमा कर्णाली प्रदेशमा भएका घटना मध्ये बाल अधिकारका घटनामा ११ जना बालिका बलात्कारका घटनाबाट पीडित भए । त्यसै गरी शरीरिक दण्ड सजायबाट दुई जना र बालविवाह घटनामा ६ जना पीडित भए ।
कर्णाली प्रदेशमा महिला अधिकार उल्लङ्घनका घटनामा घरेलु हिंसाबाट ३९ जना, बलात्कार घटनामा आठ र बहुविवाहको घटनामा सात जना पीडित भए । यसैगरी कथित बोक्सीको आरोपमा एक जना, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनामा १० जना पीडित भएको इन्सेकको अभिलेख गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिकरुपमा स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।