१७ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन प्रयास गरेको कसुरमा जिल्ला अदालत, कैलालीले डोटी जिल्ला शिखरनगरपालिका–७ चुरेखोलाका २० वर्षीय किरण कार्कीलाई २०८० वैशाख ७ गते ६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले कसुर ठहर गरी ६ वर्ष ८ महिना कैद सजाय र २५ हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।
पीडितलाई ०७७ पुस ७ गते आरोपितले भारतमा लगेर बलात्कार गर्नुको साथै बेचबिखनको प्रयास गरेको भन्दै पीडित परिवारले नै आरोपितलाई भारतबाट नियन्त्रणमा लिएर ०७८ वैशाख ५ गते प्रहरीलाई जिम्मा लगाउनुको साथै जिल्ला प्रहरी कार्यालय, कैलालीमा सोही दिन वैशाख ५ गते उजुरी दिनु भएको थियो ।
प्रहरीले सरकारी विकल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी तथा मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेकोमा ०७८ वैशाख २९ गते जिल्ला अदालतको आदेशमा आरोपित बालक भएकाले बालसुधार गृह, डोटीमा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ वैशाख ५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।