INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा नयाँबानेश्वरबाट ११ जना द्वन्द्वपीडित गिरफ्तार

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकको विरोध गर्दै नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका ११ जना द्वन्द्वपीडितहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विभिन्न माग लेखिएका पम्प्लेट र ब्यानरसहित प्रदर्शनमा उत्रिएका द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थासँग आवद्ध द्वन्द्वपीडितले प्रहरीले लगाएको बार तोड्दै सांसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले उनिहरूलाई गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेहरूमा रामेछापका ६० वर्षीय कल्यनण बुढाथोकी, रामेछापकी ४५ वर्षीया रिता कार्की, पाँचथरका ४६ वर्षीय रणविर लावती, बाँकेका ४६ वर्षीय हरि सुनार, बाँकेकी ४५ वर्षीया निमा गुरुङ, बाँकेकी ४० वर्षीया जयरुपा खत्री, रौतहटकी ४५ वर्षीया बिना महत दाहाल, सिरहाकी ४० वर्षीया गिता तामाङ, उदयपुरकी ४२ वर्षीया सानुमाया कार्की, कैलालीकी ४३ वर्षीया धनकला टमाटा र सुनसरीकी ४२ वर्षीया सावित्रा अधिकारी रहेका थिए ।

गिरफ्तारीमा परेका द्वन्द्वपीडित हरि सुनारले टीआरसीको तेस्रो संसोधन विधेयक २०७९ मा विधेयक पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएकाले विरोध गर्दा आफूहरूलाई प्रहरीले गिरफ्तार गरेको बताउनु भयो ।

सुनारले सांसदमा प्रस्तुत गरेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एकपक्षीय भएकाले खारेज गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा एक घन्टा राखेर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।

अन्य

भिडियो