INSEC Online

📅 २०८३ जेष्ठ २१

३७ वर्षदेखि सडकमै घिस्रिनु पर्ने बाध्यता

कस्तो बिडम्बना ! तातो पिचमा हातले टेक्नुपर्ने । उफ्रिएर र घिस्रिएर करिब तीन किलोमिटर बजार फन्को लगाउँछन् । फोहोर, चिसो, धुलो र हिलोबाट जोगिने उपाय छैन् । उनका लतारिएर खुट्टा र ढुङ्गा माटोमा पछारिएका हातहरु देख्नेहरू भक्कान्छिन् । रेसुंगा नगरपालिका–६ का माधब मरासिनी ३७ वर्षका हुनुभयो । जन्मिएको पाँच महिनामा अचानक कम्मरमा समस्या देखियो । घर परिवारले बुटवल काठमाण्डौदेखि भारत पुर्‍याएर उपचार गरेपनि निको भएन ।

समस्या बल्झिदै गएपछि मरासिनीले खुट्टालेनै टेक्न नसक्ने हुनुभयो । कैयो समय घरबाट बाहिर हिडडुल गर्न पनि परिवारले दिएनन् । स्कुल सुरू भएपछि आमाले बोकेर तीन/चार वर्ष अक्षरसम्म चिनाइन् । बिस्तारै असजिलो भएपछि माधवले स्कुलनै जान छोड्नु पर्‍याे । घरमा बिस्तरा नछोड्दा अझै पछि पर्ने भएपछि अप्ठयारोकाबिच पनि तलमाथि गर्न सुरू गरेको मरासिनीले सुनाउनु भयो । गाउँमा कच्ची र धुलो सडक हुँदा पनि टाढा–टाढा पुग्न थालेपछि बानी परेको माधवको भनाई छ । बिरामी परे उपचार गर्न केहि किनमेल गर्न परे तम्घास बजार आउने गरेको मरासिनीले बताउनु भयो ।

photo2023041301gulmi

तम्घासबाट सात किलोमिटर टाढाको घर । महिनामा तीन / चार पटक तम्घास आउनुपर्छ । घरबाट आउने सबै सार्बजनिक गाडीले बोक्दैनन् । बोक्नेहरूले भाडा छोड्दैनन् । भाडाका सवारी साधनले घरबाट बजारसम्म ल्याएको ५० देखि १ सयसम्म लिने गरेका छन् । मनकारीहरूले बाटोमा घिस्रिएको देखे उठाएर गन्तव्यमा छोड्छन् । सधै गाडी अनुकुल पर्दैन । बसपार्कबाट गुल्मी अस्पताल घिस्रिएर आउँदा ४५ मिनेट लाग्छ ।

photo2023041304gulmi

अस्पतालको काम सकेर बजार डुलेर बसपार्क पुग्दा दिन बित्छ । व्यस्त सडकमा उनको बिडम्बना नदेख्ने सायदै कम छन् । उहाँले थुप्रै निर्वाचनमा मतदान गर्नुभयो । घरमा भोट माग्न आउनेहरूले चिल्ला गफ गरे । तर, सडक चिल्ला पारेनन् । ‘भोट माग्नेहरूले गर्दिन केही पनि भनेनन् । घर जाने सडक अलपत्र परेको एक दशक भए,’मरासिनीले भन्नुभयो,‘कम्तिमा पनि सडक कालोपत्रे भए अपाङ्गमैत्री साधन प्रयोग गर्थे ।’ एक वर्षमा कालोपत्रे गर्ने गरेर ०७१ सालमा सम्झौता भएको मरासिनीको घर जाने तम्घास–खाम्सेपानी सडक आठ वर्षमा ६ पटक म्याद थपेर पनि अलपत्र परेको छ ।

उमेरले नेटो काटेका बुबा–आमा । पत्नी शान्ता मरासिनी पनि पूर्ण स्वस्थ छैनन् । बल्झिदै गरेको स्वास्थ्य अवस्थाका कारण माधवलाई सात वर्षीय छोराको पिरलो बढी छ । चार दिदि बहिनीका बिचका माधव एक्लो छोरा हुन् । आमा धनकलाको काँधमा अपाङ्गता भएका छोरा बुहारी र सानो नाती छन् । छोरालाई हातले चलाउन मिल्ने सवारी र नातीलाई शैक्षिक सामग्रीको लागि सहयोग गर्न मरासिनीले आग्रह गर्नुभयो । ‘खुट्टाले नटेके पनि हात राम्रा छन् । बसेर हातले चलाउने कुनै साधन भए बाँचुन्जेल चार पाउ टेकेर त घिस्रिन पर्दैन्थ्यो,’मरासिनीले भन्नुभयो,‘नेताले चुनाव नआएसम्म गरिबका कुरा सुनि दिदैनन् ।’

जिल्लामा सबै उक्लिनु पर्ने कार्यालय भवन छन् । जिल्लाका अड्डादेखि सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् । अझै पहाडमा सडक सङ्रचना अपाङ्गमैत्री बन्ने कुरै भएन् । आफैले भोट दिएका मेयर र उपमेयर भेट्न नगरपालिका आउँदा सिँढी उक्लिने उपाय हुँदैन् । सेवा प्रवाह गर्ने कोठाहरूको अवस्था उस्तै छ । प्रशासन कार्यालयदेखि न्याय दिने अदालतसम्म अपाङ्ग मैत्री छैनन् । त्यो सँगै सार्बजनिक सवारीका साधनले समेत छुट दिदैनन् ।

संविधानको प्रस्तावनाको चौथो अनुच्छेद, मौलिक हक अन्तरगत विभिन्न धारा र उपधाराहरूमा अपाङ्गता भएकाहरूको लागि बिशेष व्यवस्था र अधिकार निर्धारण गरेको छ ।

नेपाली नागरिक भएको हैसियतले संविधानमा उल्लेख भएका सवै अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले अन्य सरह समान आधारमा निर्वाधरुपमा उपयोग गर्न पाउँछन् । तर, अपाङ्गता भएकाहरूको निम्ती बनेका कानुनहरूको पूर्ण कार्यान्वय नभएको आशा अपाङ्ग केन्द्रको उपाध्यक्ष गंगा रायमाझीले बताउनु भयो ।

रायमाझीका पनि दुई वटा खुट्टा छैनन् । तर, रायमाझीले सयौ अपाङ्गहरूको हेरचहार र अधिकारका पक्षमा बोल्दै आउनु भएको छ । रायमाझीले नीति निर्माताहरूनै अपाङ्गता भएकाहरूको पक्षमा सकरात्मक नभएका कारण शारिरीक असक्ततााबिच थुप्रै पीडा झेल्नु परेको बताउनु भयो ।

कुनै पनि कार्यालय अपाङ्गमैत्री नभएका कारण कैयौले दुख पाएको र  जिल्लामा अपाङ्गहरूको वास्तविक तथ्याङ्कसमेत नभएको रायमाझीले बताउनु भयो ।

अन्य

भिडियो