२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दुल्लू नगरपालिका–९ पादुका गाउँका ३० वर्षीय राजेश योगीलाई दैलेख जिल्ला अदालतले चैत २९ गते साढे तीन वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदारलाई साढे तीन वर्ष कैद, पीडितलाई १० हजार रुपिंयाँ क्षतिपूर्ति, एक लाख ५० हजार रुपियाँ सरकारी कोषमा जम्मा हुने गरी जरिबाना र पीडित राहत कोषमा छ हजार रुपियाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
०७९ असोज २९ गते राति घरमा सुतिरहेकी ती महिलालाई बलात्कार प्रयास गरेको र पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरी दिएका थिए । उजुरीको आधारमा असोज २९ गते नै प्रहरीले आरापितलाई गिरफ्तार गरेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २९ गते दैलेख अस्पतालमा भएको थियो ।
प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत कात्तिक १८ गते बलात्कार प्रयास कसुरमा अभियोग पेश गरेको र कात्तिक २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट आरोपित पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।