महाभारत गाउँपालिका–३ सिद्धेश्वर माध्यमिक विद्यालयका २७ जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सोही विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षक देविन्द्रकुमार विष्टलाई ०७९ चैत २६ गते एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत काभ्रेका प्रमुख न्यायाधीश मोहनराज भट्टराईको इजलासले विष्टलाई ०७९ चैत २६ गते एक वर्ष तीन महिना कैद सजाय, १५ हजार ४ सय रुपियाँ पीडित राहत कोषमा भराउने र विद्यालयका पीडित २७ जना विद्यार्थीलाई जनही १० हजार रुपियाँका दरले क्षतिपुर्ति भराउने समेत फैसला गरेको छ ।
अनुसन्धानका क्रममा पीडित विद्यार्थीलाई विष्टले ०७८ फागुन १२ गते आफ्नो मोवाइलबाट कक्षा कोठामै यौनजन्य भिडियो देखाएको अभियोग पुष्टि भएको थियो ।
जिल्ला अदालतको चैत ८ गतेको आदेशले विष्टलाई ५० हजार धरौटीमा रिहा गरेको थियो ।