बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले चैत २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई चैत १० गते भारतको उत्तरप्रदेश रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका–३ डेरा गरी बस्दै आएका ५० वर्षीय रिजान खानले बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण चैत १० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
पीडितलाई न्यायिक प्रक्रियामा जान आर्थिक अभाव भएपछि सहयोग गरि दिन इन्सेकलाई सिफारिस गरिएको सिविन नेपाल, कैलालीका संयोजक हरीलाल चौधरीले बताउनु भयो ।
आर्थिक समस्याका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुर्याउने उद्धेश्यले पीडितहरुलाई इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
इन्सेकले आर्थिक सहयोग गरेर न्यायिक प्रक्रियामा सहयोग गरेको भन्दै पीडितकी आमले इन्सेकलाई धन्यवाद दिनु भयो ।