INSEC Online

📅 २०८३ जेष्ठ २१

वादी समुदायका व्यक्तिहरुका लागि नगरपालिकाद्वारा घर निर्माण

घरबारविहिन रहेका वादी समुदायका  पाँच परिवारलाई मंगलसेन नगरपालिकाले सदरमुकाम मै घर निर्माणको थालनी गरेको छ ।

सदरमुकाममा रहेको वडा नम्बर ५ को भैसेडाँडामा नगरपालिकाले नै जग्गा खरिद गरेर घर निर्माणको थालनी गरेको हो ।

घरजग्गा नभएका पाँच परिवारलाई आवासका लागि घर नभएपछि अघिल्लो वर्ष जग्गा खरिद गरेर यस वर्ष एकतले घर बनाउन थालेको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।

एकतले पक्की घर बनाउन आवश्यक बजेट विनियोजन गरेर यसै आर्थिक वर्षमा सक्ने गरेर कोठा, भान्छा र शौचालयसहितको घर निर्माण गरिने मंलगसेन नगरपालिकाका प्रवक्ता बृखबहादुर बोगटीको भनाइ छ ।

नगरपालिकाले जग्गा खरिद गरेर घर निर्माण हुन थालेपछि घामपानीबाट छेकिएर बस्न सहज हुने प्रेम वादीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘बस्नलाई आफ्नो घर थिएन् । रात बिताउन नै समस्या हुन्थ्यो । अब घर बन्ने भएपछि त राती आनन्दसँग निन्द्रा लाग्ने भयो ।’

घरको चिन्ताले पिरोलीरहेको बेलामा नगरपालिकाले नै घर बनाएर दिने भएपछि निकै खुसी भएको टंकी वादीको भनाइ छ ।

उहाँले यसअघि वादी परिवार नगरपालिकाको साँघुरो माटोको कच्ची घरमा कोचिएर बस्न बाध्य भएको र अब घर भएपछि आफूहरुलाई आयआर्जनमूलक काममा लाग्न पनि सहज हुने बताउनु भयो ।

पछाडि परेका र पारिएका व्यक्तिहरुको लागि स्थानीय सरकार अभिभावक भएर काम गर्ने नीति अनुसार आफूहरुले वादी परिवारको घर निर्माण गर्न लागेको नगरप्रमुख बोहराको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारलाई सीपमूलक कार्यक्रम र अनुदानका कार्यक्रम समेत नगरपालिकाबाट प्रदान गरिरहेको समेत नगरप्रमुख बोहराले बताउनु भयो ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३७ मा आवाससम्बन्धी हक उल्लेख गरिएको छ । जसमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने व्यवस्था छ ।

अन्य

भिडियो