१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २५ वर्षीय मनोज कार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०७९ चैत २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना र २० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नवराज कार्कीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ पुस १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ पुस १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ पुस २७ गते गरिएको थियो ।