INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपत्रमा प्रकाशित सहिदको सूचीको नाम सच्याउन निवेदन

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा आफ्नो पतिको नाम फरक परेको भन्दै व्यास नपा–११ पोल्याङकी सिता कैनीले पतिको नाम सच्याउन निवेदन दिनु भएको छ ।

पति श्यामसुन्दर कैनीको नाम सहिदको सूचीमा भरत कैनी भएर प्रकाशित भएको हुँदा उक्त नाम सच्याएर श्यामसुन्दर कैनी उल्लेख गर्न वडा कार्यालयको सिफारिस सहित चैत २० गते जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएको सिता कैनीले बताउनु भयो ।

श्यामसुन्दर कैनीलाई २०५९ वैशाख १७ गते नेपाली सेनाको टोलीले घरबाट नियन्त्रणमा लिई व्यास नपा–१२ स्थित पृथ्वीराजमार्गको बाङ्गेसिमल भन्ने स्थानमा पुर्‍याएर गोली हानी हत्या गरेको थियो ।

सरकारले हालै द्वन्द्वकालमा मारिएका ८ हजार ४ सय ७० जनालाई सहिदको सूचीमा राख्दै उनीहरूको नाम राजपत्रमा प्रकाशित गरिएको थियो ।
सहिदको सूचीमा गलत नाम परेपछि भविष्यमा राज्यले दिने विभिन्न सुविधाबाट वञ्चित हुने भएको कारण नाम सच्याउन निवेदन दिएको कैनीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वडा कार्यालयको सिफारिस सहित सहिदको सूचीको नाम सच्याउन निवेदन आएको हुँदा प्रमाणित गरेर गृहमन्त्रालयमा पठाउने बताउनु भयो ।

अन्य

भिडियो