२३ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई दैलेख जिल्ला अदालतले चैत २० गते जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले कसुरदारलाई जन्मकैद, पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिनुपर्ने फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
शारीरिक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई ०७८ असार ६ गते कसुरदारले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन ३ गते दैलेख जिल्ला अदालतमा दायर गरेको बलात्कार मुद्दामा साउन ४ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले आरोपितलाई पुर्पक्षका जिल्ला कारागार थुनामा पठाउने आदेश गरेको थियो ।