गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।
गोलबजार नगरपालिकाको लेटरप्याडमा चैत १५ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले दर्ता गरेको डिएसपी रबिन्द्रराज पाण्डेले बताउनु भयो ।
आरोपित महरालाई सवारी चालक रामकेवल मण्डललगायतका कर्मचारीले चैत १४ गते घटना स्थलबाटै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । सिरहा जानका लागि गोलबजार नगरपालिका कार्यालयबाट गाडी चढ्दै गरेका बेला नगर प्रमुख श्रेष्ठमाथि आरोपितले मोबिल छ्यापेको आरोप छ । प्रमुख श्रेष्ठका अनुसार अपरिचित एक व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला आरोपितले शरीरमा मोबिल छ्यापेका थिए ।
सवारी चालक मण्डलले महरालाई नियन्त्रणमा लिएको र अर्का अराोपित फरार भएको जानकारी दिनुभयो । मोबिल छ्याप्नेहरूले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेका थिए ।
प्रमुख श्रेष्ठका समर्थकहरूले चैत १५ गते बिहान गोलबजार स्थित पूर्व–पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध गरी आरोपितलाई कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका थिए ।