पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष परियारलाई मकवानपुर जिल्ला अदालतले ०७९ चैत १४ गते २५ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले परियारलाई २५ वर्ष कैद सजाय, पाँच हजार जरिवाना र दुई हजार आठ सय रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका तहसिलदार अमृत घिमिरेले बताउनु भयो ।
०७८ असोज ५ गते बालिकालाई बलात्कार गरेको भनी पीडित परिवारले परियारविरुद्ध असोज ६ गते इलाका प्रहरी कार्यालय बागमतीमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।
प्रहरीले सोही दिन परियारलाई गिरफ्तार गरी असोज १९ गते मकवानपुर जिल्ला अदालतमा बलात्कारको मुद्धा दर्ता गरेको थियो ।