सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू बोदेबर्साइन नगरपालिका–७ मानराजाफुलहराका २२ वर्षीय चन्दन साह तेली, २५ वर्षीय सिकेन्द्र साह तेली र २१ वर्षीय सिकेन्द्र भनिने चन्दन यादवविरुद्धको मुद्दा चैत १२ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले फरार रहेका अरोपितहरू विरुद्धको मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको सूचना अधिकारी भरतमणि पोृखरेलले बताउनु भयो ।
आरोपितहरूले ०७७ भदौ २६ गते राति सामूहिक बलात्कार गरेको भन्दै पीडितले भदौ २७ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी गर्नुभएको थियो । शौचालय गर्न राति निक्लिएका बेला मुखमा गम्छी (तौलिया) बाँधेर अपहरण गरी तीनजनाले बलात्कार गरेको पीडितले बताउनु भयो ।
प्रतिवाद गर्दा पीडितलाई आरोपितहरूले कुटपिट समेत गरेका थिए । भदौ २६ गते राति ९ बजेदेखि बेपत्ता बनाइएकी पीडितलाई आरोपितहरूले भदौ २७ गते विहान ३ बजे मोटरसाइकलबाट घर अगाडिको मन्दिर नजिक ल्याएर छाडेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको ०७७ भदौ २७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले भदौ २७ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतबाट आरोपितहरू विरुद्ध ०७७ असोज २ गते नै पक्राउपुर्जी जारी भएको छ ।
पक्राउ नपरेका र उपस्थित नभएका आरोपितहरूविरुद्ध जिल्ला अदालतमा ०७८ भदौ २१ गते अभियोग पत्रदायर भएको थियो ।