दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शैय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
०७८ चैत महिनामा निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल १५ प्रतिशत काम पनि पूरा नभएको र निर्माण कम्पनीले लामो समयदेखि निर्माण कार्य रोकेर सम्पर्क विहीन भएको अस्पतालका अहेव प्रवीण बराइलीले बताउनु भयो ।

आरोग्य सुवेदी जेभीले ०७८ चैत १६ गतेसम्म काम सम्पन्न गर्ने गरी ०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नगरेपछि गाउँपालिकाले ०७९ असोज १६ गतेसम्मको म्याद थप गरेको थियो । तर थप गरेको समयमा पनि निर्माण व्यवसायी कार्य क्षेत्रमा पुगेनन् ।
काममा कुनै प्रगति नभएको अवस्थामा गाउँ कार्यपालिकाले एकै पटक ०८० असार २४ गतेसम्मको लागि म्याद थप गरे पनि निर्माण कार्य सुरु भएको छैन ।
भ्याट र पीएस सहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपियाँमा काम सम्पन्न गर्ने सम्झौता कम्पनीले गरेको थियो । सो कामको लागि कम्पनीले २ करोड २६ लाख रुपैयाँ पेस्की लिएको छ । त्यस्तै पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपियाँ भुक्तानी लिइसकेको छ भने दोस्रो अन्तिम बिल ४६ लाख १३ हजार रुपियाँ भुक्तानीको तयारी अवस्थामा गाउँपालिकाले दिएको प्रतिवेदनमा उल्लेख छ ।

भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम भएको छैन । लामो समयदेखि त्यतिकै छाडेको फलाम खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण कम्पनी सो स्थानका निर्माण सामाग्री समेत उठाएर अन्यत्रै लगेको छ ।
कम्पनीले काम नगरेको अस्पताल जस्तो संवेदनशील क्षेत्रको निर्माण कार्य अलपत्र बनाएकोले कम्पनीलाई कारबाहीको दायरामा ल्याएर निर्माण कार्य सुचारु रुपले अघि बढाउन माग गर्दै स्थानीय रत्नप्रसाद कँडेलले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले सबै सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्देशन दिनुभएको छ । उहाँले पहिलो पटक छलफलबाट समस्या समाधानको उपाय खोजिने बताउनु भयो ।
अस्पतालको भवन निर्माण नहुँदा स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भवन निर्माण भएर १५ शय्याको अस्पताल सञ्चालनमा आएमा तीन जना चिकित्सक सहित कम्तीमा २० जना स्वास्थ्य कर्मीले सेवा प्रवाह गर्ने अहेब बराइलीले बताउनु भयो ।

पूर्वाधार नभएको कारण अहिले अस्पतालमा स्वास्थ्य चौकीको जति जम्मा ६ जना स्वास्थ्यकर्मी छन् । ‘दरबन्दी अनुसारको स्वास्थ्यकर्मीको कुरा गर्दा पहिला पूर्वाधार बनोस् भन्ने जवाफ आउँछ, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह गर्न सकिएको छैन’, बराइलीले भन्नुभयो ।
गाउँमा अस्पताल नबन्दा स्थानीय बिरामी पर्दा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यता रहेको स्थानीय मानबहादुर तामाङले गुनासो गर्नुभयो । ‘गाउँको अस्पताल अलपत्र छ, बिरामी पर्दा काठमाडौँ जानुपर्छ, आर्थिक रूपमा विपन्न, दलित, थामी समुदायका कतिपय मानिसहरू उपचारको लागि काठमाडौँ जान नसकेर ज्यान गुमाउनु पर्ने अवस्था छ’, तामाङले भन्नुभयो ।
निर्माण व्यवसायीको लापरबाहीको कारण समयमा अस्पताल भवन नबन्दा अस्थायी टहरोबाट स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको स्थानीय मोविन तामाङले बताउनु भयो । सधैँ चिसो हुने दोरम्बामा जस्ताको टहराको चिसोले बिरामी थप बिरामी हुने उहाँले बताउनु भयो ।
अस्पताल भवन तत्काल बनाउनु पर्ने बताउँदै निर्माण व्यवसायीले काम नगरे ठेक्का सम्झौता तोडेर अर्कोलाई दिएर भए पनि काम गर्नुपर्ने स्थानीय मीनबहादुर घिसिङ बताउनु हुन्छ । नागरिकको स्वास्थ्य माथि खेलबाड नगर्न स्थानीय घिसिङले आग्रह गर्नुभयो ।
