बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय राहुल भण्डारी र २९ वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ७ गते उजुरी दिएको छ ।
माघ २८ गते घरमा आइ ‘बोक्सी’को आरोपमा गालिगलौज गर्दै कुटपिट समेत गरेको भन्दै पीडितले चैत ५ गते इलाका प्रहरी कार्यालय हरकठवामा घटना बारे जानकारी गराइ शान्ति सुरक्षाको लागि आग्रह गरेपछि आरोपितहरूले पुनः कुटपिट गरेको पीडित सकिला खातुनले बताएकी छिन् ।
कानूनी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्र गर्नका लागि चैत १ गते राति आरोपित पक्षबाट दबाब आएको पीडितको आरोप रहेको छ ।
पीडित महिलाको उपचार माघ २९ गते हरकठवा स्वास्थ्य चौकीमा भएको थियो भने थप उपचारका लागि माघ २९ गते नै सर्लाही जिल्ला अस्पताल मलङ्गवा र माघ ३० गते प्रादेसिक अस्पताल जनकपुर लगिएको थियो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलास राईले जानकारी दिनु भयो ।
पीडित महिलाको घाउजाँच परीक्षण पुनः चैत ७ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।