INSEC Online

📅 २०८३ जेष्ठ २१

मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका–५ घरभई जिल्ला वार एशोसियसनका सचिव ३६ वर्षीय अधिवक्ता राजन चन्दलाई सोही ठाउँका मिदि जाग्मु लामाले मार्ने धम्की दिएको भन्दै चन्दले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

अधिवक्ता चन्द र स्थानीय लामाको घरसँगै रहेकाले जग्गाको विषयमा उठेको विवादका कारण दुई पक्षबीच यसअघि जिल्ला अदालतमा आपराधिक मुद्दामा उजुरी दर्ता भई फागुन २५ गते जिल्ला अदालत हुम्लाले १५ दिन कैद, १० हजार रुपियाँ जरिबाना र अधिवक्ता चन्दलाई ८० हजार रुपियाँ क्षतिपूर्ति तिर्ने भन्दै फैसला गरेको थियो ।

अदालतको फैसलालाई व्यवस्ता गरी लामाले फागुन २९ गते आफूलाई कार्यालयमा काम गरिरहेको समयमा आएर मार्ने धम्की दिएपछि आफुले जिल्ला अदालतमा फागुन २९ गते र जिल्ला प्रहरी कार्यालयमा चैत २ गते शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको अधिवक्ता चन्दले बताउनु भएको छ ।

वकिलले आफूलाई धम्की दिएको भन्दै लामाले चैत २ गते नै प्रहरीमा उजुरी दिएको डिएसपी हेमलाल भट्टराईले बताउनु भएको छ । उहाँका अनुसार फैसला भएको पाँच दिन नहुँदै क्षतिपूर्तिको दावी गरेको र लामाले आफ्नो मुद्दा के भएको छ भन्ने विषयमा अदालतमा जाँदै गर्दा चन्दले उल्टै धम्की दिएको भन्ने उजुरीमा खुल्न आएको छ । अब कानुनी प्रक्रिया अनुसार मुद्दा अघि बढ्ने डिएसपी भट्टराईको भनाई छ ।

अन्य

भिडियो