१४ वर्षीया बालिकालाई अपहरण गर्न सहयोग गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २५ वर्षीय रुपेशकुमार राम फागुन ३० गते गिरफ्तार भएका छन् ।
राजविराज नगरपालिका मा बसेर पढिरहेकी बालिकालाई ललाई फकाई २२ वर्षीय मनोजकुमार रामले अपहरण गरेको घटनामा सहयोग गरेको आरोपमा उनका भाई रुपेशकुमार राम गिरफ्तार भएका हुन् ।
आरोपित मनोजले दाजु रुपेश, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय रञ्जयकुमार रामको सहयोगमा ०७९ मङ्सिर २२ गते साँझ अपहरण गरेको पीडितका बुबाले बताउनु भएको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी भएको छ ।
मनोजका ठूलो बुबा शिबु हरिजनका अनुसार मनोज र बालिका ०७९ कात्तिक २३ गते पनि सहमतिमा घरबाट भागेकोेमा फेला पारी कात्तिक २७ गते विष्णुपुर गाउँपालिका–६ का वडाअध्यक्ष परमानन्द यादवको रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो । आरोपित मनोज र बालिका दुबै पुनः सम्पर्कविहिन भएका छन् ।