राजनीतिक दलहरूले इमान्दारीता देखाए सङ्क्रमणकालीन अवस्था टुङ्गििने इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी नमुनासँग फागुन ३० गते नेपालगञ्जमा भएको छलफलमा अध्यक्ष अर्यालले उक्त कुरा बताउनु भएको हो ।
राजनीतिक व्यक्तिहरुले चासो र इमान्दारीता नदेखाएका कारण सङ्क्रमणकालीन अवस्था लम्बिएको उहाँको भनाइ रहेको छ ।
शान्ति सम्झौताको लामो समयसम्म पनि द्वन्द्व पीडितहरूले सत्यको जानकारी नपाए पछि निरिह नागरिकले न्याय खोज्न अदालत गुहारेको उनको भनाइ रहेको छ । उहाँले राजनीतिक मुद्दा भएकाले राजनीतिकरुपमा नै अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई अनुसन्धानको दायरा खुम्च्याउने गरी अधिकार प्रत्योजन गरिनुले पनि पीडितहरू सत्य थाहा पाउनबाट वञ्चित भएको अध्यक्ष अर्यालले बताउनु भयो ।
अध्यक्ष अर्यालले मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि इन्सेकले स्थानीय तह देखि संघीय तहसम्म सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी नमुनाले शान्ति प्रक्रियाको १८ वर्ष पछि पीडितले मुद्दा हाल्ने काम कुनै पक्षले उचालेर देशलाई फेरी को द्वन्द्वतीर धकेल्न खोजेको त होइन भन्ने आशङ्का उब्जाएको बताउनु भयो ।
उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने विषयलाई अदालतमा लैजाने कार्यले माओवादी घटकहरूलाई फेरी एक ठाउँमा ल्याएको बताउनु भयो ।
“हामी सरकारमा भएको बेलामा सङ्क्रमणकालीन अवस्थालाई तार्किक निष्कर्षमा पुर्याउन तयार छौ ।,” केसीले भन्नु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले राजनीतिक स्थायीत्व नभएका कारणले शान्ति प्रक्रिया टुंगो लाग्न नसकेको धारणा राख्नु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले वास्तविक पीडित पहिचान गर्न आवस्यक रहेको बताउनु भयो ।
