१२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोग लागेका बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय जेष्ठ नागरिकलाई १२ वर्ष कैद सजाय भएको छ ।
न्यायाधीश दिवाकर भट्टको फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतीपूर्ती फैसला गरेको इजालाश अधिकृत गंगाधर सापकोटाले बताउनुभयो ।
०७८ चैत ५ गते बालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले ०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित विरूद्ध ०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
आरोपितलाई अदालतको ०७९ असार २३ गतेको आदेशले पुर्पक्षको लागि थुनामा राखिएको थियो ।