INSEC Online

📅 २०८३ जेष्ठ २१

झारफुकका नाममा कुटेर हत्या गरको घटनाका आरोपित गिरफ्तार

सैनामैना नपा–१० की १४ वर्षीया बालिका सीता ज्ञवालीलाई झारफुकको बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सैनामैना–१० की २२ वर्षीया सोनिया रेश्मीलाई फागुन २१ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आफूलाई मता बताउने आरोपितले फागुन २१ गते झारफुक गरी बिरामीलाई सञ्चो बनाउँछु भन्दै भुँइमा लडाएर घोप्टो पारी शरीरमाथि चढी (बसी) हातमा घण्टी बजाउँदै गालामा थप्पड हान्दै गरेको भिडियो सामाजिक सञ्जालमा प्रहरीले देखेपछि आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।

उक्त भिडियोमा–‘आइज, आऽऽऽ देखिस, कति खान्छस, मेरो पावर देखिस !’ भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न अङ्गमा प्रहार गरेको, भुँइमा लडाएको, टाउको र घाँटीमा लात्ति प्रहार गरेको, पटकपटक जगले नाक र मुखमा पानी खन्याएको, कपालमा समाएर टाउको बटारी दिएको, कपालमा समाएर अनुहारमा थुकेको, खरानी कोच्याएको र लछारपछार पारी कुटपिट समेत गरेको’ देखिन्छ । त्यस्तो देखेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

उक्त भिडियो देखे लगत्तै इलाका प्रहरी कार्यालय सालझण्डीले झारफुक गरी सञ्चो गराउँछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान सुरु गर्दै जाँदा इन्स्पेक्टर जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टोलीले आरोपितलाई गिरफ्तार गरी आरोपितको साथबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामग्रीहरू–त्रिशुल, जग, रुद्राक्षको मालालगायत नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाका विषयमा मृतक बालिकाको घर परिवारसँग बुझ्दा चार/पाँच दिनदेखि सीता कानसम्बन्धी बिरामी भएको, पटकपटक अस्पताल लगी चेकजाँच गरी औषधि खाँदा पनि निको नभएको हुँदा ‘माता’ भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने थाहा पाएर उपचारका लगी लगिएको अनुसन्धानबाट खुलेको जनाएको छ ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सीताको मृत्यु भएकोमा परिवारले सोही दिनको राति नै कपिलवस्तु जिल्लाको लक्ष्मणघाट पुर्‍याएर दाहसंस्कार गरेको मृतकको घरपरिवारबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

आरोपितलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यानसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको क्रममा घटना हुने दिन बिहान छोरी सीता ज्ञवालीलाई उपचारको लागि अटो रिक्सामा राखी सालझण्डी बजारमा रहेको स्थानीय मेडिकलमा लिएर आएको र उपचार पश्चात फिर्ता गएको भिडियो सिसिटिभि फुटेजमा समेत देखिएको छ ।

अन्य

भिडियो