बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार रुपियाँ नल्याएको भन्दै बसबरीया गाउँपालिका–४ धनगढाका २४ वर्षीय पति राकेश साहले माघ १४ गते कुटपिट गरेको छ ।
पीडितले पति राकेश साह र ४८ वर्षीय ससुरा रामकिशोर साहविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १९ गते दाइजो नदिएको कारणले कुटपिट गरको भन्दै उजुरी दिनु भयो ।
पतिको कुटपिटबाट रागनी कुमारी साहको टाउकोमा चोट लागेको र बाँया खुटामा चार ओटा टाँका लगाइएको पीडितका बुबा ४७ वर्षीय खुबलाल साहले बताउनु भयो ।
घाइतेको सामान्य उपचार माघ १५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरेपछि थप उपचार जनकपुर अञ्चल अस्पतालमा गरिएको पीडितको बुबा साहले जानकारी दिनु भयो ।
रागनी कुमारी साह र राकेश साहबीच २०७८ जेठ १६ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा दुई लाख रुपियाँ नगद र एक तोला सुन तथा घरायसी समानहरू दिएपनि पीडितलाई थप दाइजो नल्याएको भन्दै कुटपिट गर्ने गरेको पीडितका बुबा साहले बताउनु भयो ।
आरोपित पति तथा ससुरा फरार रहेकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।