इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको पहलमा घरेलु हिंसा पीडित महिलाको मुद्दा फागुन २० गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा दर्ता भएको छ ।
गोदावरी नगरपालिका—१ विजौराकी ३८ वर्षीया पुजा चौधरी फागुन १८ गते मानव अधिकार समुहको सहयोगमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा उपस्थित भएर न्यायका लागि पहल गरी दिन लिखित निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानव अधिकार समुहले मुद्दा दर्ता गराउन सहयोग गरेको हो ।
पति र सौताबाट पटकपटक पीडित हुदै आएको र एक्लै उजुरी दिन सहास नभएकोले इन्सेक र मानव अधिकार समुहसँग सहयोग मागेको समेत पीडित महिलाले बताउनु भयो ।
उहाँले ४१ वर्षीय पति बमबहादुर चौधरीले जग्गा बिक्री गरेर बर्दगोरिया गाउँपालिका–१ मुडाकी २६ वर्षीया रुमा बादीसँग वहुविवाह गरी अलग्गै बस्दै आएका र पटकपटक सम्बन्ध विच्छेदका लागि दवाव दिने र ज्यान मार्ने धम्की दिदै आएकाले न्यायका लागि मानव अधिकार समुहसँग सहयोग मागेको बताउनु भयो ।
पीडितले मौखिक रुपमा मानव अधिकार समुहसँग सहयोगका लागि आग्रह गरेकाले इन्सेकको पहलमा फागुन २० गते बहुविवाहको मुद्दा दर्ता गर्न सहयोग गरेको गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहका संयोजक नरदिप धामीले बताउनु भयो ।
पीडितले दर्ता गरेको बहुविवाहको उजुरीपश्चात सरकारी वकिल कार्यालय मार्फत २१ गते जिल्ला अदालतको म्याद थप पक्राउ पुर्जीजारी गरे भएपछि आरोपितलाई गिरफ्तार गर्ने तयारी भइरहेको मलाखेती प्रहरी चौकीका सई नरेन्द्र भण्डारीले बताउनु भयो ।