INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले फागुन २१ गते दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यलाई १० वर्ष कैद, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिनुपर्ने र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय फैसला सुनाएको छ ।

पीडित पक्षको उजुरी, प्रहरी अनुसन्धान प्रतिवेदन, मिसिलमा संलग्न कागज प्रमाण, पीडितले अदालतमा गरेको वकपत्र समेतबाट बलात्कार भएको पुष्टि भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनु भयो ।

आफ्नो घरमा डेरा गरेकी ती बालिकालाई ०७८ चैत २१ गते दिउँसो बिरामी परेकी मौकामा झारफुक गरिदिने बहानामा बलात्कार गरेको भनी पीडित पक्षले चैत २३ गते उजुरी गरेको थियो । उजुरीका आधारमा आचार्यलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा ०७९ वैशाख १४ गते बेचबिखन सम्बन्धी अभियोग दर्ता गराएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।

अभियोग सम्बन्धमा वैशाख १५ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

अन्य

भिडियो