INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको ०७९ फागुन १९ गते बसेको संयुक्त इजलासले यसअघि दाहालको अभिव्यक्तिविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने निर्णय बदर गर्दै सोही रिट निवेदन दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको हो ।

प्रधानमन्त्री दाहालले ०७६ माघ १ गते माघीका अवसरमा खुलामञ्चमा आयोजित कार्यक्रममा आफूले द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन सक्ने बताएका थिए ।

दाहालको उक्त अभिव्यक्तिविरुद्ध अधिवक्ता कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले फौजदारी अभियोगमा दाहालमाथि छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्च अदालत प्रशासनले ०७९ कात्तिक २४ गते उक्त रिटलाई राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपिठ गरेको थियो ।

अदालत प्रशासनको दरपिठ आदेशविरुद्ध अधिवक्ता आरन र बुढाथोकीले सर्वोच्च अदालतमा पुन अर्को निवेदन दिएका थिए ।

सोही निवेदनमाथि सुनुवाइ गर्दै फागुन १९ गते न्यायाधीश खतिवडा र फुयालको इजलासले दर्ता गर्न आदेश दिएको रिट निवेदकमध्येका अधिवक्ता ज्ञानेन्द्रराज आरणले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

दाहालले खुल्लमखुल्ला रुपमा दिएको अभिव्यक्तिले द्वन्द्व पीडितको घाउमा नुनचुक छरेको जस्तो भएको र सर्वोच्च अदालतको संयुक्त इजलासको आदेशले द्वन्दबाट पीडित भएका समुदायले एक हदसम्म न्यायको अनुभूति गरेको अधिवक्ता आरणले बताउनुभयो ।

आरणले अदालतको आदेश अनुसार आफूहरूले फागुन २१ गते निवेदन दर्ता गराउने उल्लेख गर्नुभयो ।

अन्य

भिडियो