लुम्बिनी प्रदेशका डीआईजी टेकप्रसाद राईले आफू र आफू मातहतका प्रहरी कर्मचारीहरू मानव अधिकारमैत्री कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले फागुन १५ गते डीआईजी राईलाई नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रदान गर्ने क्रममा भएको छलफलमा राईले उक्त कुरा बताउनु भएको हो ।
डीआईजी राईले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक सत्यतथ्य घटनामा अधारमा तयार गरिएको बताउदै मानव अधिकार, मानव अधिकारमैत्री कानुन कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भयो ।

प्रत्येक वर्ष प्रकाशन गरिने मानव अधिकार वर्ष पुस्तकले राज्यलाई जवाफदेही तथा उत्तरदायी बनाउन तथा दिगोविकासको लक्ष्य प्राप्तीका लागि योजना बनाउन सहयोग गरेको जिल्ला अदालत बाल इजलासका बाल मनोविशेषज्ञ सुदीप भट्टराईले बताउनु भयो ।
यसैगरी, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्द , निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलगायत सरोकारवाला निकायहरूलाई नेपाल मानव अधिकार वर्ष पुस्तक प्रदान गरिएको थियो ।

