उमाकुण्ड गाउँपालिका–५ प्रीति घर भई रामेछाप र सोलुको सिमाना भएर बग्ने लिखु खोलामा जलविद्युत आयोजना निर्माणको काम गरिरहेको एम भी दुगड हाइड्रो पावर कम्पनीमा ड्राइभरको काम गर्ने ४१ वर्षीय मिलन भनिने उद्योग बहादुर कटुवालको बिरामी पर्दा कम्पनीले उपचार नगरेको कारण ०७९ फागुन ११ गते ज्यान गएको भन्दै पीडितका आफन्तले फागुन १५ गतेसम्म पनि शव उठाएका छैनन् ।
दुई वर्षदेखि सो कम्पनीमा सवारी चालकको रूपमा काम गर्दै आएका कटुवालको फागुन ११ गते क्याम्प भित्रै ज्यान गएको कटुवालका भान्जा कविराज कार्कीले जानकारी दिनुभयो ।
बिरामी पर्नुभएका कटुवालले आफू बिरामी परेको जानकारी कम्पनीलाई गराउनु भएको तर कम्पनीले बेवास्ता गरेर अस्पताल नलगी क्याम्प भित्रै राखेको कारण ज्यान गएको कार्कीले बताउनु भयो ।
कम्पनीको साइड कार्यालयमा बिरामी पर्नुभएका कटुवाललाई साइड अफिसबाट कम्पनीको सोलुको किञ्जामा रहेको अफिसमा पानीको ट्याङ्कर हालेर पठाएको र ट्याङ्कर बाटोमा नै बिग्रिँदा बिरामीको ज्यान गएको कार्कीले जानकारी दिनुभयो ।
कम्पनीको लापरबाहीको कारण पीडितको ज्यान गएको भन्दै पीडितका आफन्तले शव उठाउन मानेका छैनन् । यस विषयलाई लिएर फागुन १४ गते आफूले कम्पनीमा कुरा गरेको भए पनि बेवास्ता गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सनुवारले बताउनु भयो ।
कटुवालको एक महिने सुत्केरी पत्नी र दुई छोरी छन् ।
कटुवालको पत्नी र आफन्त सहित छलफलमा कम्पनीले तेस्रो पक्षको बिमा गरेको र पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने बताएको कार्कीको भनाइ छ । पीडित पक्षले कम्तीमा २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनु पर्ने र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउनु पर्ने माग गर्नुभएको छ ।
कम्पनीले सो कुरालाई अस्वीकार गरेको छ । कम्पनीको नियमभन्दा बाहिर गएर कुनै क्षतिपुर्ति दिन नसकिने कम्पनीका इन्चार्ज इन्द्रजीत कार्कीले बताउनु भयो ।
मृतक मुटुको बिरामी भएको कारण ज्यान गएको र यसमा कम्पनीको कुनै लापरबाही नभएको इन्चार्ज कार्कीले बताउनु भयो ।
