प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले फागुन १४ गते प्रहरी प्रधान कार्यालयमा भेट गरी समसामयिक मानव अधिकार अवस्थाका बारेमा छलफल गरेको छ ।
मानव अधिकार संरक्षण र सम्बद्र्धनका सवालमा छलफल भएको उक्त भेटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ ले उठाएका विषयवस्तुका बारेमा प्रहरी महानिरीक्षक सिंहले चासो व्यक्त गर्नु भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई उजागर गरी सम्बन्धित पक्षलाई जिम्मेवार र जबाफदेही बनाउन इन्सेकले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
नेपाल प्रहरी मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा लागि परेकाले यातनालगायतका मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीले शुन्य सहनशीलताको नीति लिएको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बताउनु भयो ।

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवासँगै छुवाछुतसम्बन्धी घटनामा सहजीकरण गर्न दलित डेस्कको स्थापना हुन थालेको पनि जानकारी दिनु भयो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले विगतको तुलनामा प्रहरीबाट हुने मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउनुलाई सकारात्मक रूपमा लिएको बताउनु भयो ।
उहाँले अहिले समाजमा महिला तथा बालिकामाथि हुने गरेका यौनजन्य घटनाहरूमा कमी नआउनु दुःखद् भएको बताउनु भयो ।
अध्यक्ष अर्यालले सूचना तथा प्रविधिको क्षेत्रमा भएको विकाससँगै यही प्रविधिको दुरूपयोग गरी महिला तथा बालिकाहरूमाथि हुने गरेका अपराधका घटना न्यूनीकरणका लागि प्रहरीले योजनासहित प्रभावकारी काम गर्नुपर्ने बताउनु भयो ।
प्रहरी महानिरीक्षक सिंहसँगको भेटमा इन्सेकबाट अध्यक्ष अर्यालसहित कार्यकारी निर्देशक विजयराज गौतम, कृष्ण गौतम र शैलेश शर्मा सहभागी हुनु भएको थियो ।
महानिरीक्षकसँगै प्रहरी प्रधान कार्यालयका एसपी दिप शम्सेर राणा पनि भेटमा सहभागी हुनुहुन्थ्यो ।