INSEC Online

📅 २०८३ जेष्ठ २१

नारायण नगरपालिकालाई छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने

नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफ्नो कार्यकालमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने योजना रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा आयोजना गरेको दुई दिने जिल्ला स्तरीय मानव अधिकार रक्षक सम्मेलनको मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका विषयक प्यानल छलफलमा उहाँले सो कुरा जानकारी गराउनुभएको हो ।

दलित तथा भूमिहीनलाई नामदर्ताको निस्सा दिइएको र जग्गा दिने प्रक्रिया थालेको, दलितहरुलाई स्वास्थ्य बीमा लगायतका काम थालिएको जानकारी नगरप्रमुखले दिनुभयो ।

मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका विषयक प्यानल छलफलमा अर्का अतिथि महिला सशक्तिकरण मञ्च दैलेखका संस्थापक अध्यक्ष डिलकुमारी चन्दले अधिकारकर्मी महिलाहरुलाई अहिले पनि काम गर्न सामाजिक वातावरण अनुकूल नभएको बताउनुभयो ।

उहाँले अहिले पनि समाजमा विवाह गरेका पत्नीलाई लालपूर्जा भएको जग्गा जसरी उपभोग गर्ने हो भन्ने बुझाई रहेको औल्याउनुभयो । संस्थापक अध्यक्ष चन्दले समुदायले अगुवा महिलाहरुलाई बाठी भएकी, समाज भाड्ने काम गरेकी भन्ने लाञ्छना लगाउने गरेको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तीर्थ भण्डारीले सञ्चारकर्मीहरु मानव अधिकार रक्षक भएकोले भौतिक आक्रमणको जोखिम, विभिन्न किसिमका आरोप र असहयोग भोगिरहेर पनि सुशासन र मानव अधिकार प्रवद्र्धनमा जुटिरहेको व्याख्या गर्नुभयो ।

इन्सेकले मानव अधिकार रक्षकहरुको जिल्ला सम्मेलनको पहिलो दिन शनिवार तीन वटा विषयमा प्यानल छलफल गरेका थिए । सामाजिक परम्परा, कुरीति र मानव अधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा प्यानल छलफल गरिएको थियो ।

प्यानल छलफलहरुमा मानव अधिकार सम्वद्र्धनका लागि गरिएका प्रयास, कानूनको पालना, पीडितले न्याय पाउने प्रक्रिया, प्रक्रियागत जटिलता र समस्याहरुको समाधानको सवाल विषयमा सहभागीहरुले प्रश्न गर्नुभएको थियो ।

सरकारी निकायका अधिकारीहरुले भइरहेका प्रयासहरु बारे जानकारी गर्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन काममा आपसी सहकार्य सवालमा खुला अन्तरक्रिया भएको थियो ।

त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोताले बदलिदो परिवेशमा मानव अधिकार रक्षकका काम, कर्तब्य ,अधिकार र स्थानीय सरकारसंगको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो ।

Dailekhphoto20230226. 2html

अन्य

भिडियो