बेलका नगरपालिका–७ गोवाटारमा ०७९ भदौ १७ गते एकै परिवारका तीन जनाको हत्या गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका–७ का ४३ वर्षीय नरबहादुर बस्नेतलाई जन्मकैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको फागुन ११ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
आफ्नी पत्नीलाई कथित बोक्सी आरोप लगाएको भन्दै नरबहादुरले ३७ वर्षीय राजकुमार बस्नेत, उनकी पत्नी ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको ०७९ भदौ १७ गते खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
राजकुमारलाई खेतमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमा छोरालाई स्थानीय बबिङ खोलामा हत्या गरी भाग्दै गरेको अवस्थामा आरोपितलाई प्रहरीले खुकुरीसहित बेलका नगरपालिका–६ वरबोटबाट भदौ १७ गते गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ असोज ६ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदी ०७९ असोज ७ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
शवको पोष्टमार्टम ०७९ भदौ १८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको थियो ।
सोही दिन पीडित पक्षले शव बुझी बेलका नगरपालिका–७ स्थित खोलामा सद्गत गरेको थियो ।