बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले फागुन १२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले न्यायीक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई मङ्सिर १८ गते गोदावरी नगरपालिका—९ का १९ वर्षीय विनोद खत्री र सोही ठाउँका २४ वर्षीय नविन चौधरीले सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २१ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
पीडितलाई न्यायीक प्रक्रियामा जान आर्थिक अभाव भएपछि सहयोग गरि दिन इन्सेकलाई सिफारिस गरिएको सिविन नेपाल, कैलालीका संयोजक हरीलाल चौधरीले बताउनु भयो ।
आर्थिक अभावका कारण पीडित न्याय पाउनबाट वञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताउनु भयो ।