INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या कसूरमा जन्मकैद सजाय

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सत्यनारायण यादवको हत्या कसूरमा सोही पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्रीलाई फागुन ८ गते जन्मकैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले कसूरदारलाई जन्मकैदका साथै ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको अदालतले जनाएको छ ।

आरोपितले २०७९ असोज १९ गते हत्या गरेको भन्दै मृतककी पत्नी फुलसैरदेबी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । मोहनपुरस्थित बोर्डर आउट पोष्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पुर्‍याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो ।

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा ०७९ असोज २० गते बिहान यादवको शव नाङ्गो अवस्थामा फेला परेको थियो । पोष्टभित्र रगतको टाटाहरू फेला परेको र चिकित्सकहरूले मृतकको शरीरमा चोटपटक लागेको जानकारी दिएका थिए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज २२ गते भएको थियो । प्रहरीले आरोपित खत्रीलाई असोज २६ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७९ कात्तिक २० गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

भारतीय प्रहरीले शव बुझाउन खोज्दा सुरुमा छिन्नमस्ता बीओपीका इञ्चार्ज सई कृष्णबहादुर मगरले आफ्नो मान्छे नभएको भन्दै शव बुझ्न मानेका थिएनन् । आफूहरूलाई जान समेत रोकेको भन्दै मृतकका छोरा अमोदकुमार यादवले जबरजस्ती भारत गएर शव पहिचान गरेपछि स्थानीयवासीको दबाबमा मात्र शव नेपाल ल्याइएको बताउनु भएको थियो ।

अन्य

भिडियो