INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशका चार जिल्लासहित १६ जिल्लामा कुष्ठरोगीहरूको सङ्ख्या उच्च

लुम्बिनी प्रदेशका चार जिल्लासहित १६ जिल्लामा कुष्ठरोगीहरूको सङ्ख्या उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित देशका १६ जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च रहेको छ ।

विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि कुष्ठरोग निवारण कागजमा मात्र सीमित भएको छ । हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोगका बिरामी छन् ।

जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५ सय ८४ कुष्ठरोगीहरू रहेका छन् । नेपाललाई कुष्ठरोग निवारण घोषणा गरिएको भए पनि सो रोगका बिरामी अझै भेटिने गरेको छ । माइक्रोब्याक्टेरियमलेप्रे नामक सूक्ष्म कीटाणुका कारणले लाग्ने यो रोग विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिमा बढी देखिने गरेको छ ।

सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । महाशाखाको तथ्यांक अनुसार झापा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बर्दिया, पर्सा, बाँके, नवलपरासी, मोरङ, कैलाली, बारा, रूपन्देही, कपिलवस्तु र सिरहा लगायतका जिल्ला बढी प्रभावित रहेका छन् । मुलुकबाट कुष्ठरोग निवारण भएको दाबी गरिएको १३ वर्ष बित्न लाग्दासमेत अहिले पनि मधेसका १७ र पहाडका २ जिल्लामा अझै निवारण नभएको देखिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, रौतहट, बारा, सर्लाही, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, रुकुममा हालसम्म कुष्ठरोग निवारण भएको छैन । देशमा ८६ प्रतिशतभन्दा बढी कुष्ठरोगको संक्रमण मधेसका जिल्लामा देखिएको कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

गैडहवा गाउँपालिकाका ६५ वर्षीय विष्णु चौधरी (नाम परिवर्तन) का हातगोडाका औँला छैनन् । राम्ररी बोल्न, हिँड्न पनि उनलाई समस्या छ । आफ्ना दैनिक क्रियाकलाप गर्न गाह्रो छ । चौधरी १२ वर्षको उमेरमै कुष्ठरोगको सिकार हुनु पर्‍याे  ।

मायादेवी गाउँपालिका कुसुम यादव (नाम परिवर्तन) अहिले १७ वर्षकी हुनु भयो । उनका हातका औंला सुनिने, पोलेको फोका जस्तै हुने र शरिरका विभिन्न ठाउँमा छाला मरेको जस्तो घाउँ भएपछि उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आउनु भयो ।

चौधरी र यादव त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै कुष्ठरोगीहरू नेपालमा कुष्ठरोग विरुद्धको अभियानमा सक्रिय छन् । त्यसो त रोगको सही उपचार नपाएर दुःखकष्टपूर्ण जीवन बिताइरहेका कुष्ठरोगीको संख्या पनि कम छैन ।

मुलुकका सबै स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने कुष्ठरोग माइक्रोब्याक्टेरियमलेप्रे नामक सुक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । मुख्य रूपमा छाला र नसाहरूमा असर गर्ने यो रोगमा हलुको फुस्रो रंगको दाग देखिने, अनुहारको छाला बाक्लो हुने र स्नायुमा असरले हातगोडा छुँदा थाहा नपाउनुका साथै मांशपेसी कमजोर हुन्छ । नियमित उपचारबाट पूर्ण निको हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले नै ९९.९ प्रतिशत कीटाणु निष्क्रिय भएर अरूलाई रोग सर्दैन ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबै भन्दा धेरै रुपन्देहीमा १ सय ६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १ सय २१, नवलपरासी पश्चि ममा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७÷७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले बताउनु भयो ।

सातै प्रदेशमध्ये सबै भन्दा बढी कुष्ठरोगीहरु मधेश प्रदेशमा र सबै भन्दा कम बागमती प्रदेशमा बिरामी रहेका छन् । मधेश प्रदेशमा प्रति १० हजारमा १.४१ प्रतिशित दर रहेको छ भने बागमती प्रदेशमा ०.१७ प्रतिशत रहको छ । लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सक्रिय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतना मूलक कार्यक्रम, अपाङ्गता रोकथाम लगायतका कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताउनु भयो ।

अन्य

भिडियो