गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते दुर्व्यवहार भएको छ ।
जनयुद्ध दिवसका दिन फागुन १ गते दुवाडीले लेखेको फेसवुक ‘स्टाटस’लाई लिएर दुर्व्यवहार भएको हो । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) समर्थीत विद्यार्थीहरूले दुवाडीको कार्यकक्षमै पुगेर दुव्र्यवहार साथै कार्यकक्षका टेवल र कुर्चि तोडफोड गरेको पीडित दुवाडीले बताउनुभयो ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पाण्डे र इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा पुगेका युवाहरूले आफुमाथि दुर्व्यवहार गरेको उहाले बताउनुभयो । दुवाडीले आफु क्याम्पस प्रमुख मात्रै भन्दा पनि एउटा द्धन्द्धपिडित पनि भएकोले आफ्नो निजि विचार फेसवुकमा राखेकोे बताउनुभयो ।
दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको विषय फिर्ता लिएर माफी माग्न आग्रह गर्दै अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले फागुन १ राती विज्ञप्ती समेत जारी गरेको थियो ।
दुवाडीले ‘कथित जनयुद्ध शब्दलाई बैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने पोष्ट गर्नुभएको थियो ।
दुवाडीमाथि भएको दुर्व्यवहार घटना प्रति क्याम्पसका कर्मचारी संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले पनि भत्र्सना गरेका छन् । घटनामा संलग्नलाई अविलम्व कानूनी कारवाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । ‘लोकतन्त्रको सुन्दर पक्षको रूपमा अभिव्यक्ति स्वतन्त्रता संविधानले व्यवस्था गरेको भए तापनि यस्ता अमानवीय र अपमानजनक व्यवहारले कानुन र लोकतन्त्रकै खिल्ली उडाएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनले पनि विज्ञप्ती मार्फत घटनाको भत्र्सना गरेको छ । छलफलका क्रममा सामान्य विवाद भएको क्रान्तिकारी द्रब्यशाह वहुमुखी क्याम्पसका इकाई अध्यक्ष अनिश अर्यालले बताउनुभयो ।
