बन्दिपुर गाउँपालिका– ३ की ८४ वर्षीया माया सार्कीको फागुन १ गते बिहान हत्या गरेको आरोपमा प्रहरीले मृतकका छोरा ४७ वर्षीय राजकुमार सार्की र बुहारी ३५ वर्षीया सुशीला मजाकोटीलाई फागुन १ गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले आमालाई धारिलो वस्तुले अनुहारमा हानेर हत्या गरि गाईको गोठमा लगी आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिनु भयो ।
लामो समयदेखि प्यारालाइसिसको समस्याबाट ग्रसित आमालाई स्याहार सुसार गर्नुपर्ने हुदाँ त्यही झन्झटले हत्या गरेको हुनसक्ने स्थानियले अनुमान गरेको डिएसपी मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
फागुन १ गते बिहान ५ बजेको समयमा माया सार्कीको अनुहारको भागमा घाउचोट समेत भई आगोमा जलेको अवस्थामा स्थानीय बासिन्दाहरूले देखी प्रहरीलाई खबर गरेका थिए । गोठमा आगो लगाउँदा एउटा गाई समेत जलेर मरेको डिएसपी खाँडले बताउनु भयो ।
उक्त घटनाको बारेमा जानकारी पाएपछि पुगेर प्रहरीले शव बरामद गरि आरोपितहरूलाई गिरफ्तार गरेको डिएसपी खाँडले बताउनु भयो ।
शवको पोष्टमार्टम दमौली अस्पतालमा फागुन १ गते गरिएको छ । पोष्टमार्टम पछि शव मृतकका आफन्तले बुझी दमौलीमा शतगत गरेका छन् ।
गिरफ्तार गरिएका आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।